सिंगो परिवारमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट

Share:

जनकपुरधाम । महोत्तरीमा बोक्सीको आरोपमा एक दलित परिवारमाथि निर्घात कुटपिट गरिएको छ ।

गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि कुटपिट भएको हो ।

स्थानीय सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाका परिवारले बुधवार बिहान इतरियादेवी परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट इतरियादेवी, उनकी श्रीमान राजेन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी, सुन्दरदेवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन् ।

इतरियादेवीको टाउको फुट्नुका साथै बायाँ हातसमेत भाँचिएको छ । उनको शरीरभरि चोट लागेको डाम छन् । सुरेन्द्रको टाउको फुटेर ६ वटा टाँका लगाउनुपरेको छ भने सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ । बाँकी सदस्यलाई भने समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ । देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक गिरीले बताए ।

उनले भने ‘यसअघि पनि इतरिया परिवारमाथि कुटपिट भएको थियो’ । असोज २७ गते बोक्सी भन्दै इतरियाको परिवारमाथि भएको आक्रमणको प्रयासको बारेमा इलाका प्रहरी कार्यालय गौशालामा निवेदन परेको थियो। तर दसैंपछि त्यसको निर्क्यौल् निकाल्ने भन्दै प्रहरीले पीडित परिवरलाई घर पठाइदिए । कानुनी कारबाही प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरीले यही शुक्रवार दुबै पक्षलाई छलफलको समय समेत दिएको थियो । तर प्रहरीले छलफलको लागि बोलाउनु अगाबै बुधवार विहान इतरियाको पूरै परिवारमाथि नै आक्रमण भयो।

कुटपिट गर्नेमध्ये सन्तोष यादव र विनोद पासमानलाई बुधबार पक्राउ गरेको डिएसपी गिरीले बताए । उनका अनुसार पीडित परिवारको जाहेरीको आधारमा उनीहरूविरूद्ध बोक्सी आरोपमा कुटपिट गरेको शिर्षकमा मुद्दा चलाइएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी घटनबारे थप अनुसन्धान र फरारहरुको खोजी कार्य भइरहेको उनले बताए । विनोदकी श्रीमती र छोरीलगयायत आरोपीत अन्य व्यक्तिहरू फरार छन् ।

कमेन्ट गर्नुहोस्