
काठमाडौँ । आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगल भनिने बाँकेका योगराज ढकाल लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धर अस्पताल पुगेकी छिन् । बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो।
रिगल, भारतीका श्रीमान चेतनको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। नेपाली कांग्रेस निकट भनिएका रिगल लाई संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिँदै रिहा गरेको थियो।
रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि रिगललाई सरकारले आममाफी सिफारिस गरेकोमा गत असोज ४ देखि ८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकबाट विरोध गरेका थिए।







