
काठमाडौं । कांग्रेस पृष्ठभूमि भएको भनिएका बाँकेका बिबादित व्यक्तित्व रिगल भनिने योगराज ढकाललाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरु गरेकी छन् ।
भारतीका श्रीमान् चेतन मानन्धरको हत्याको अभियोगमा जेल परेका रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् ।
रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी श्रीमती भारती अनशन बसेकी हुन् । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन् ।
सरकारले यसअघि पनि राजनैतिक पृष्ठभूमिका केहि व्यक्तिहरुलाई सजाय माफि दिएकोमा हाल सम्म पनि बिरोध भैरहेको छ भने असन्तुस्ट पक्षको जमात दिनानुदिन बढ्दै गएको मानिएको छ।







