अन्तिमतिर पुग्यो ललिता निवास प्रकरणमा बहस, थुनछेक आदेश आजै आउन सक्ने

Share:

काठमाडौं । काठमाडौं जिल्ला अदालत काठमाडौंमा ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे भइरहेको बहस अन्तिमतिर पुगेको छ । आइतबार एक जना प्रतिवादी पक्षका कानून व्यवसायीले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार सरकारी वकिलको बहस आजै सकिए थुनछेक आदेश पनि आउन बताए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए ।

बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।

सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्व कर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

आरोपीमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्व सचिवसमेत छन् ।

कमेन्ट गर्नुहोस्