
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि पनि छानबिन हुनै पर्ने बताएका छन् । पार्टीको संसदीय दलको बैठकमा उनले महरा बाबु–छोरामाथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।
‘यो तस्करी सानो मान्छले गर्न सक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन’, बैठकमा उनले भने, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनुपर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।’
प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई छानबिनमा सघाउन लगाउनुको सट्टा पार्टी बैठकमा स्पष्ट पार्नु भनेकोप्रति गगनले असन्तुष्टि जनाए । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई सुन प्रकरणको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्न भनेका थिए ।







