
ललितपुर। ललितपुर जिल्लाको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई रहेका छन्। निजलाई शुक्रबार पक्राउ गरिएको जिप्रका ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।
शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए। ‘सिसीटिभी फुटेज हेर्दा ड्युटीमा रहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकस्मात् कुटपिटमा उत्रिएको देखिन्छ,’ उनले भने।
ताप्लेजुङ स्थाई घर भएका राईलाई पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिदै कार्कीले अभद्र व्यवहारमा मुद्दा चलाउन सकिने संकेत गरेका छन् ।







