
काठमाडौं । गत शुक्रबार दर्ता भएको कोशी प्रदेशमा उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै खारेजीको मागदाबी सहित दायर रिट निवेदन उपर मंगलबार पनि सुनुवाइ हुन सकेको छैन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत दायर गरेको रिट निवेदनमा नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
आइतबार यता दैनिक रुपमा पेसी तोकिए पनि उक्त रिट निवेदन लगातार तेस्रो दिन पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको भएतापनि न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा समेत बस्नुपर्ने भएकोले मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेका हुन् ।
कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् । असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि कार्कीले परमादेश माग गरेका छन् ।







