मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सवार सबैको मृत्यु (अपडेट)

Share:

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ।

दुर्घटनामा परी हेलिकप्टर चालक पाइलट चेतबहादुर गुरूङ र पाँच जना मेक्सिकन नागरिक गरि जम्मा ६ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

‘६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ,’ उनले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’

प्रहरीका अनुसार स्थानीय चौकीका असई निराजन बस्नेतको टोली घटनास्थलमा पुगिसकेको छ र शव संकलन गर्ने काम भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठ र नेपाली सेनाको टोलीसमेत गइरहेको खबर छ।

कमेन्ट गर्नुहोस्