
२१ जेठ, काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ ।टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् । सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरी सेयर लगानीकर्ता आन्दोलनमा रहेतापनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ।
आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने तथा कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।
आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी समेत गरेका छन् । लगानीकर्ताहरुले आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन् । उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ।
यसैबीच आन्दोलनकारीसंग बार्ता गर्नको लागि अर्थमन्त्रालय तयार भएपछि आन्दोलनरत सेयर लगानीकर्ता र सरकारबीच अर्थमन्त्रालयमा छलफल हुने भएको छ । बार्ता मा अर्थमन्त्री, अर्थ मन्त्रालयका पदाधिकारी, सेबोन अध्यक्ष र लगानीकर्ताका प्रतिनिधिहरुको उपस्थित रहनेछ।







