
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री तथा प्रतिनिधिसभा सांसद अरूणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी भएको छ । लम्किचुहा नगरपालिका-४ बलियामा रहेको पाँचतले घरमा चाेरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ ।
प्रहरीका अनुसार मन्त्री चौधरीको घर पछिल्ला तीन महिनादेखि खाली थियो । बुधबार दिउँसो करिब पौने ४ बजेतिर घरमा चोरी भएको जानकारी प्राप्त भएको डिएसपी राजकुमार सिंहले जानकारी दिए । ‘हिजो उहाँका दिदी नाता पर्ने एकजनाले घरमा चोरी भएको खबर गरेपछि हामी जानकार भयौं, अहिले अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चोरहरूले घरको दोस्रो तलाको ग्रिल निकालेर प्रवेश गरेका थिए । चोरी भएको समय भने अझै यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरूका अनुसार घरमा रहेका सुनका औंठी, सिक्री लगायत गरगहना, केही चाँदीका सामानहरू र नगद ६५ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।








