बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

Share:

काठमाडाैं । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान गरेको छ । काठमाडौंबाट उडेको एटिआर-७२ जहाज बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो ।

धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिट (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो । बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन् । तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन । त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर-७२ को परीक्षण गरिएको हो ।

बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले साना जहाजमात्रै चलिरहेको अवस्थामा छिट्टै ठूलो जहाज पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । अनुमति प्राप्त गरेलगत्तै नियमित उडान सुरू गर्ने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले परीक्षण उडानसँगै अब एटिआर-७२ जहाजले यहाँ नियमित उडान गर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गरिने बताए ।

यो जहाजको क्षमता ७२ जना यात्रु बोक्न सक्ने भएपनि भरतपुर-काठमाडौं उडानको क्रममा कति यात्रु बोक्न सक्छ भन्ने कुरा त्यही समयको मौसमले निर्धारण गर्ने कर्णले बताए ।

उक्त जहाजका पाइलट क्याप्टेन प्रमोद थापाले काठमाडौं-भरतपुर उडान सहजरूपमा भएको जानकारी दिए । भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो छ । विमानस्थलको विस्तार गर्ने प्रयास लामो समयदेखि भइरहेपनि प्रक्रिया सुस्त भइरहेको छ ।

बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाडौं‌बाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्नसक्ने अनुमान गरिएको बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर बस्नेतले बताए ।

अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौं–भरतपुर दैनिक सातवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । क्षमता ४७ सिट भए पनि धावनमार्ग र बढी तापक्रमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्