
सर्लाही। सर्लाहीका मिटरब्याज पीडित केही दिनदेखि आन्दोलनमा छन्। आफूहरूले न्याय नपाएको र प्रहरी प्रशासन पनि मिटरब्याजी कारोबारीकै पक्षमा देखिएको भन्दै उनीहरू आन्दोलित बनेका हुन्।
बिहीबारदेखि सदरमुकाम मलंगवामा उनीले आन्दोलन थालेका छन्। चिसो रातको प्रवाह नगरी मिटरब्याज पीडितहरू न्यायको लडाइ लडिरहेका छन्।
शुक्रबार रातिमात्रै मलंगवामा दुई सय बढी पीडितले खुला आकासमुनी चिसो रात काटे। मिटरब्याजीले उठिवास नै लगाएपछि उनीहरू सडकमा आउन बाध्य बनेका हुन्। पटक-पटक आन्दोलन गर्दा पनि न्याय नपाएको उनीहरूको गुनासो छ।
टाडाबाठा मिटरब्याजी कारोबारीले गाउँका सोझासाझा व्यक्तिहरूलाई ठगेका छन्। जसले गर्दा उनीहरू निकै पीडामा रहेको बताइएको छ। आन्दोलनमा अधिकांश महिला छन्। मध्यपुसको चिसोमा सडकमै टेन्ट टाँगेर उनीहरू आन्दोलित बनेका हुन्।
मिटरब्याजीका कारण आफूहरू सडकमै पुगेको भन्दए उनीहरूले सडकमै खाना बनाएर खाएका छन्। शुक्रबार बिहानैबाट पीडितले मलंगवास्थित जिल्ला अदालत अगाडि फेरि प्रदर्शन सुरु गरेका छन्।
मिटरब्याज पीडित सरस्वती मिश्र मिटरब्याजी साहुलाई पक्राउ गरेर कारबाही नभएसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी दिन्छिन्। ‘हाम्रो आन्दोलन न्याय नपाउँदासम्म जारी नै रहने छ। मिटरब्याजी साहुले हामीहरूको उठिवास लगाएका छन्’, उनले भनिन्।
बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाउन गएका पीडितमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेको थियो। त्यसक्रममा केही पीडित घाइते भएका थिए। बिहीबार साँझ प्रहरीले प्रदर्शनकारीलाई तितरभितर पार्न केही सेल अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो। त्यसपछि प्रहरीले पनि आफूहरूलाई पीडा दिइरहेको उनीहरूको गुनासो छ।
सिडिओ कार्यालयअगाडि मिटरब्याजी साहु रामस्वरूप राय पक्षले आफ्ना कपडा च्यातेर कुटपिट गर्दा पनि प्रहरी प्रशासनले न्याय नदिएको सर्लाहीको हरिपुर नगरपालिका– ५, लक्ष्मीपुरका अमरुल खातुनले बताइन्।
प्रहरीहरुकै अगाडि अमरुल र मविना खातुनलाई लछारपछार गर्दै साहुहरूबाट कुटपिट हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको पीडितहरूको आरोप छ। जिल्ला प्रहरी कार्यालय सर्लाही भने प्रहरी पीडकको पक्षमा लागेको भन्ने आरोपमा सत्यता नभएको बताएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सर्लाहीमा अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी २ हजार ३१८ वटा उजुरी परेका छन्। जसमध्ये १ हजार ५५७ उजुरीमाथि छलफल भएको छ। त्यसमध्ये ६२३ वटा उजुरी फस्योट भएर मिलापत्रमा टुंगिएका छन्।
ती उजुरीमा मिटरब्याजी साहुहरुबाट ऋणीसँग ५४ करोड ८ लाख २२ हजार ७३३ रुपैयाँ माग दाबी भएकोमा २३ करोड २१ लाख १९ हजार ९७४ रुपैयाँमा सहमति भएको छ। साहुले हडपेका पीडितका २० बिघा भन्दा धेरै जग्गा ऋणीलाई फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।








