
काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नेपालको जाजरकोट जिल्लाका भूकम्पबाट पीडितहरूको व्यवस्थापन सहजीकरणका लागि दुई महामन्त्रीहरुको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।
आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प व्यवस्थापन सहजीकरण समिति गठन गरेको हो ।
कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार आइतबार बिहान पार्टी कार्यालय सानेपमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै कांग्रेसले भूकम्प पीडितकालागि सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने थप सहयोग रकम संकलन गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूमाझ आव्हान गरेको छ ।
प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको राहत कोषमार्फत सरकारलाई हस्तान्तरण हुने गरी पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरूबाट राहत संकलन गर्ने आव्हान गरिएको बताए ।







