
काठमाडौँ । हिजो देखि परेको वर्षासँगै आएको पहिराका कारण देशका अनेकौ मार्ग र राजमार्गहरु अवरुद्ध भएको छ ।
काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा यातायात अवरुद्ध भएको छ भने कुलेखानी–सिस्नेरी सडकको विभिन्न स्थानमा पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको छ।
त्यसैगरी कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक पहिरोले गर्दा अवरुद्ध बनेको छ। पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो गएकोले सडक अवरुद्ध बनेको हो। सोहि करिडोरकै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण सडक पूर्णरूपमा अवरुद्ध छ ।
लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्।
बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।
कमेन्ट गर्नुहोस्







