प्रधानमन्त्री प्रचण्ड व्यापार सम्मेलनलाई सम्बोधन गर्न बेइजिङ जाँदै

Share:

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङजाओबाट राजधानी बेइजिङ इजिङ पुग्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११:१० बजे चीनको राजधानी शहर बेइजिङ पुग्ने कार्यक्रम छ। उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन्। विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनी स्टेट गेस्ट हाउसमा बस्नेछन् ।

बेइजिङमा आइतबार हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेका छन्।

व्यापार सम्मेलनमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् ।

अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हान्जाउ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नुका साथै १९ औं एसियन गेम्सको उदघाटन समारोहमा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्