
काठमाडौँ । धार्मिक पक्षले समेत महत्वपुर्ण मानिएको उपत्यकाको बागमती नदिमा शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ आयोजना गरिएको छ।
नदी संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा) का उपाध्यक्ष शिशिर खनालले बताएका छन् । अभियान नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलले संयुक्त रुपमा गर्ने भएका हुन् ।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर तथा महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका थिए । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको भनिएको छ ।
सहभागीले नदी सरसफाइसमेत गर्ने भनिएको महोत्सव बाजागाजासहित सुरु हुने तथा जलयात्रामा सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने उदेश्य लिइएको छ ।
महोत्सव ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने र १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो ।







