
मंसिर महिनामा विकास बैंक र वित्त कम्पनीले ब्याजदर घटाउने भएका छन् । मंगलबार बसेको डेभलपमेन्ट बैंकर्स संघकाे बैठकले मंसिरमा ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको हाे ।
असोजदेखि राष्ट्रिय स्तरका विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत र बचतमा न्यूनतम ८ प्रतिशत ब्याज दिंदै आएका थिए । तर, अब १ मंसिरदेखि लागू हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दा व्यक्तिगत मुद्दतीमा अधिकम १२.८५ प्रतिशत र बचतमा न्यूनतम ७.८५ र अधिकतम ९.८५ प्रतिशत ब्याजदर दिने निर्णय बैठकले गरेकाे छ ।
वित्त कम्पनीहरुले पनि हाल ३ महिनाको मुद्दती निक्षेपमा १३.२० प्रतिशत ब्याजदर दिंदै आएकोमा १ मंसिरदेखि १३ प्रतिशतमा झार्ने निर्णय गरेको हाे ।
१ वर्षको मुद्दती निक्षेपमा १३.४५ प्रतिशत रहेको ब्याजदर १ मंसिरदेखि १३.३० प्रतिशतमा झार्ने निर्णय भएको छ । अब बचतमा पनि न्युनतम ८.३० प्रतिशत ब्याजदर कायम हुने छ । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । बैंकर्स संघको बैंठकले उक्त निर्णय गरेको हो ।








