
सरकारले आयात रोक लगाएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आइतबार एकीकृत परिपत्र-२०७८ संशोधन गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
‘नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र खण्ड ७२ को सूचना बमोजिम केही वस्तुको पैठारीमा पूर्ण बन्देज लगाइएकाले सोही सूचना बमोजिम गर्नु/गराउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।
विदेशी मुद्रा सञ्चितिमा अपेक्षित सुधार नभएको भन्दै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसीमाथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलरमाथिका स्मार्टफोन आयातमा रोक लगाउँदै आएको छ ।
पछिल्लो समय गत शुक्रबार ती वस्तुको आयात थप २ महिना (मंसिर मसान्तसम्म)का लागि रोक्का गर्ने निर्णय सरकारले गरेको छ । सोही निर्णयका आधारमा ती वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।








