
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ ।
चाडपर्वको समयमा दूधको अभाव भएको भन्दै डेरी उद्योग संघले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागे अनुसार कृषि मन्त्रालयले गत आइतबार उक्त अनुमति दिएको हो ।
मन्त्रालयले प्रतिदिन एक लाख २० हजार लिटर दूध आयात गर्न अनुमति दिएको छ । त्यसमध्ये सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थालाई ४० हजार र निजी क्षेत्रका डेरीलाई ८० हजार लिटर दैनिक रूपमा ल्याउन दिने अनुमति दिएको छ ।
डेरी उद्योग संघका अनुसार मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव भएकाले आयत माग गरिएको हो। डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूधको अभाव रहेको संघले जनाएको छ ।
कच्चा दूध अभावका कारण बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थको माग पूरा गर्न नसकेको भन्दै डेरी उद्योग संघले केही समयका लागि भारतबाट कच्चा दूध आयात खुला गर्न माग गरेको थियो ।
मन्त्रालयले यसरी दूध आयातको अनुमति दिएपछि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लगायतका संघसंस्थाले भने विरोध गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले पत्रकार सम्मेलन गरेर बिरोध गरेको छ भने केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले प्रेस विज्ञप्ति जारी गरेर सरकारको उक्त कार्यको विरोध गरेको छ ।
भारतबाट दूध आयात भएमा नारायणगढमा किसान भेला गरेर भारतबाट ल्याएको दूध नारायणी नदीमा बगाइदिने चेतावनीसमेत सङ्घले दिएको छ । नेपालमा कति परिमाणमा दूध तथा दूधजन्य बस्तु आवश्यक छ भन्ने कुराको तथ्याङ्क सरकारसँग नभएको संघको दावी छ ।
संघका अनुसार २०७५ सालदेखि भारतबाट नेपालमा दूध ल्याउन बन्द गरिएको हो । सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्।

arthasanjal.com/wp-content/uploads/2022/09/Milk_Chitwan-1024×536.jpeg 1024w, 






