आफ्नो जोडी पाँच दिनपछि जब घर फर्क्यो तब रिओको खुसीको सीमा रहेन । रिओको जोडी उजस्तै स्फूर्ति भएको खैरो अफ्रिकी सुगा हो जसको नाम रुस्तोमा हो जो घरको ढोका खुला भएको बखत घरबाट भागेको थियो । रुस्तोमा हराउनु तब समाचारको शीर्षक बन्यो जब उसलाई पाल्ने दक्षिणी भारतीय परिवारले उक्त सुगा फिर्ता ल्याउनेलाई नगद उपहार घोषणा ग¥यो । पाँच दिन पछि रुस्तोमा सुरक्षित घर फर्किएपछि उक्त परिवारले उद्धारकर्तालाई ८५,००० भारतीय रुपैयाँ प्रदान ग¥यो । यो रकम पहिले घोषणा गरिएको भन्दा निकै बढी हो ।
सेट्ठी परिवारका अनुसार उनीहरूले ती दुई सुगालाई बैङ्गलोरमा तीन वर्षअघि खरिद गरेका थिए । भारतमा अफ्रिकी सुगाहरू पाल्नु गैरकानुनी होइन। यद्यपि, भारतीय संरक्षणकर्मीहरूले अद्वितीय चराहरूको प्रजनन तथा बेचबिखनबारे वकालत गरिरहेका छन् । “हामीले उनीहरूलाई सधैँ परिवारको सदस्यका रूपमा व्यवहार गरेका छौँ र उनीहरूलाई कहिल्यै पिँजडामा राख्नेबारे सोचेनौँ,“ व्यापारीसमेत रहेका अर्जुन सेट्ठीले भने । उनका अनुसार ती चराहरूले परिवार, विशेषगरी सेट्ठीका सात वर्षीय छोरा बिहानसँग समय व्यतीत गर्न रुचाउँथे। यी सुगाहरूले आफ्नो वरपरका मानिसको आवाज नक्कल गर्थे । तर दश दिनअघि, परिवारले घरमा नयाँ काष्ठ सामग्री ल्याउँदै गर्दा रुस्तोमा घरबाट उडेको थियो ।
आफ्नो जोडी बेपत्ता भएसँगै रिओ हताश देखिन्थिन् र खान पनि अस्वीकार गर्थिन्।
सेट्ठीका अनुसार रुस्तोमाको तस्बिरसहितको पर्चा छाप्न र वितरण गर्न उनले “उल्लेख्य“ रकम खर्च गरेका थिए र उनले ५०,००० भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेका थिए । उनीहरूले छापिएको पर्चा आफूहरू बस्ने तुमाकुरु सहरको अधिकांश गल्लीहरूमा टाँसेका थिए । परिवारले त्यहाँ चल्ने अटो रिक्सा चालकहरूलाई पनि लाउडस्पिकर मार्फत रुस्तोमा हराएकोबारे सूचना प्रवाह गरिदिन पैसा दिएका थिए । घटनाक्रम अघि बढिरहँदा रुस्तोमा भने उनीहरूबाट मात्र तीन किलोमिटर पर थियो जहाँ उसलाई दुई मजदुरहरू श्रीनिवास र कृष्णमूर्तिले हेरचाह गरेका थिए ।
कृष्णमूर्तिले रुस्तोमालाई उसले सेट्ठी परिवारको घर छाडेर उडेको एकदिन पछाडि नै भेटेका थिए। ऊ एउटा रुखको टुप्पोमा बसिरहेको थियो जहाँ ऊ बिरालो र कुकुरहरूबाट जोगिन प्रयासरत थियो। ऊ डर र भोकका कारण निकै थकित र निरस देखिन्थ्यो । रुस्तोमा स्वेच्छाले कृष्णमूर्ति कहाँ पुगेका थिए। उनले त्यस सुगालाई श्रीनिवाससँग छोडिदिए जसले उसलाई पिँजडामा राखे र खाना खान दिए । चार दिनपछि, ती दुई मजदुरले सुगा हराएको सूचना प्रकाशित पर्चा भेटे र सेट्ठीलाई सम्पर्क गरे । त्यसपछि उनीहरूले पुरस्कार रकम पर्चामा लेखिएभन्दा बढी भएको थाहा पाए । “हामीले ज्योतिषसँग परामर्श गरेका थियौँ जसले रुस्तोमा तीन दिनभित्र फर्कने बताएका थिए । तर हामीले इनाम रकम बढाएको खण्डमा त्योभन्दा छिटो हुन सक्ने बताएका थिए,’’ सेट्ठीले भने ।
जब उनी रुस्तोमालाई लिन पुगे तब ऊ पिँजडामा निकै उदास मुद्रामा थियो । “मलाई देख्ने बित्तिकै उसको अनुहार हेर्न लायक थियो। उसले आफू खुसी र उत्साहित हुँदा निकाल्ने निकै चर्को आवाज निकाल्न थाल्यो,“ सेट्ठीले हाँस्दै घटनाक्रम व्याख्या गरे । रुस्तोमा फर्कँदा सम्पूर्ण परिवार जति हर्षित थियो त्योभन्दा बढी दङ्ग रिओ थिई ।
सेट्ठीले अब उप्रान्त यी चराहरूको सूक्ष्म निगरानी गर्ने बताए । यद्यपि, रुस्तोमा बेपत्ता हुनुको पीडाले यस परिवारलाई यी चराहरू चिडियाखाना जस्तै व्यापक वातावरणमा पो खुसी हुन्छन् कि भन्ने सोच्न बाध्य तुल्यायो । “के अभिभावकहरूले उच्च शिक्षा र जीवनमा प्रगति गर्न आफ्ना सन्तानहरूलाई अन्यत्र पठाउँदैनन् ? सन्तान आफूसँगै बस्नु पर्छ भन्ने कुनै बाध्यकारी नियम छैन,“ उनले भने । “यदि उनीहरू अन्यत्र खुसी हुन्छन् भने हामी उनीहरूबाट टाढा रहन पनि तयार हुनुपर्छ ।“