रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ ।
उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । आठ युनिटसम्म प्रतियुनिट रु १७५ (न्यूनतम रकम), नौदेखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम रु १७५ सहित) रु ४० प्रतियुनिट, २१ युनिटभन्दा माथि पानी उपभोग गर्नेले (न्यूनतम रकम रु १७५ सहित) रु ६३ प्रतियुनिट पानीको मूल्य कायम गरिएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए ।
“उपभोक्तालाई खानेपानीमा राहतस्वरुप नगर विकास कोषको सल्लाह अनुसार खानेपानी महसुलको दर घटाइएको छ, खानेपानीको हाहाकार रहेको रामपुरमा यस आयोजना लागू भएपश्चात् घर–घरमा स्वच्छ, गुणस्तरीय खानेपानी सुविधा पुगेको छ, उपभोक्तालाई पानीको जोहो गर्नुपर्ने समस्या सुधारका लागि हटेको छ”, अध्यक्ष श्रेष्ठले भने ।
यसभन्दा अगाडि न्यूनतम शुल्क रु २७५ (दश हजार लिटरसम्म पानी उपभोग गरेमा मात्र), दश हजार लिटर माथिदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्नेले प्रतियुनिट रु ४२ र २१ हजार लिटरदेखि माथि पानी उपभोग गर्नेका लागि प्रतियुनिट रु ६३ शुल्क निर्धारण गरी पानी घर–घरमा वितरण भइरहेको कार्यालयले जनाएको छ ।
हालसम्म तीन हजार ७६४ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार ३१० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुर सारु बताउछन् ।
रामपुर नगरपालिकाका उपभोक्तलाई शुद्ध, सफा र सहुलियत खानेपानी सुविधा घर–घरमा पुर्याउन वडा नं ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन/तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ ।
विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारिसमा वडाले शुल्क तिर्ने गरी खानेपानी धारा जडान गरेर पानी वितरण गरिएको आयोजनाका कोषाध्यक्ष विष्णुमाया ढकाल बताउछन् । उनका अनुसार पानी वितरण गर्न टाढा रहेको स्थानमा रामपुर नगरपालिकासँग समन्वय गरी पानीको सुविधा पुर्याइएको छ ।
नगरपालिकाको वडा नं ५ बेझाड बजारमाथि रहेको राम्चे सामुदायिक वनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने नगरको वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एकवटा दुई लाख लिटर र कार्कीडाँडामा एकवटा डेढ लाख लिटरका ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।
बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङबाट पानी चालु भइरहेको छ । डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङमध्ये दुईवटाबाट पानी चालु अवस्थामा छ भने एकवटा रिजर्भमा छ । यस आयोजना क्षेत्रमा करिव १७० किलोमिटर विभिन्न आकारका पाइप बिच्छाइएको छ । आवश्यक ठाउँमा भल्भ, च्याम्बर, पाइप क्रसिङलगायतका अन्य संरचनाको व्यवस्था गरिएको छ ।
उपभोक्ता सदस्यता बढ्दै जाँदा र पानी वितरणको समय बढाउन राम्चे सामुदायिक वनमा दुई लाख लिटरको एक रिजर्भ ट्याङ्की, डुम्रीगाउँ क्षेत्रमा एक चार लाख लिटरका रिजर्भ ट्याङ्की निर्माण गर्ने योजना छ । जनघनत्व बढ्दै गएकाले डुम्रीगाउँ क्षेत्रमा एक डिप बोरिङ आवश्यक छ । बोरिङ प्रणालीबाट निकालिएको पानी फिल्टर गरेर उपभोक्ताको घर–घरमा पु¥याइएपछि पानीको हाहाकारको समस्या टरेको छ ।
यसभन्दा अघि नयाँ सदस्यताका लागि प्रतिघरधुरी २० हजार सदस्यता शुल्क निर्धारण गरिएकामा २०७८ असोज १ गतेदेखि लागू हुने गरी २२ हजार शुल्क तोकिएको छ । अहिले चालु भइरहेको आयोजनाले रामपुर नगरका करिव चार हजार घरधुरीमा धारा जडान गरी पानी वितरण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । बोरिङबाट पानी तानेर उपचार विधि गरेर फिल्टर गरिएको पानी घरघरमा पुर्याइएको छ ।
नेपाल सरकार नगर विकास कोषको सहयोगमा विसं २०६७ मा सुरु भएको आयोजना २०७३ भदौमा परीक्षणका रुपमा सफल भएपछि त्यस समयदेखि नै खानेपानी वितरण गर्न थालिएको हो । नगर विकास कोषको रु २४ करोड ५० लाखको बोलपत्र आह्वान भएकामा त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान, नगर विकास कोषको ४५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजना सञ्चालन भएको हो । नगर विकास कोषसँग ४५ प्रतिशत ऋण सहयोग लिएर आयोजना सञ्चालन गरिएको छ । आयोजनाअन्तर्गत छवटा ब्लकसहित १५ समिति रहेको छ भने १३ जना कर्मचारी कार्यरत छन् ।