![](https://godawarikhabar.com/wp-content/uploads/2022/07/mrigendra-750x375.jpg)
कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने बताएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएका हुन् ।
वीरगञ्जमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिए । उनले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताए ।
कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिए । उनले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताए ।