देशको सर्वोच्च व्यवस्थापकीय निकाय सङ्घीय संसद्लाई सांसदहरुले चरम उपेक्षा गर्दै आएका छन् । सांसदहरुले संसद् बैठक बङ्क गरेका तथ्यले यसलाई पुष्टि गर्छ । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली सबैभन्दा धेरै गयल देखिएका छन् ।
उनीहरु बैठकमा जानैपर्ने भए मात्र जाने गर्छन् । यदि गइहाले पनि बैठक सकिनुअघि नै बङ्क हानेर निस्कने गरेका देखिनछन् । प्रधानमन्त्री देउवा राज्य सञ्चालनको दैनिक काममा व्यस्त हुँदा सदनमा कम उपस्थित हुनुलाई त्यत्ति आश्चर्य र आलोचनाको विषय नभए पनि प्रमुख प्रतिपक्ष दल एमालेका नेता ओली पनि संसदमा प्राय अनुपस्थित नै रहन्छन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक २९७ दिन चलेको छ । संसद सचिवालयकै तथ्यांकअनुसार बैठकमा देउवा र ओली बराबरी २१९ दिन गयल भएका छन् । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १९३ दिन गयल देखिन्छन् । पूर्व प्रधानमन्त्रीसँग होडबाजी गर्ने मामिलामा सांसद तथा मन्त्रीहरु पनि कम छ्रैनन् ।
सांसदहरू सूर्यनारायण यादव २०४, अभिषेकप्रताप शाह २०२, गोकर्ण विष्ट १९६, विना मगर १९२, शिवकुमार मण्डल १९१, मोहम्मद इश्तीयाक राई १९१ दिन, किशोरसिंह राठौर १९१, नागेन्द्र कुमार १८६ र विनोद चौधरी १७० दिन गयल छन् । पूर्वमन्त्री गोकुल बास्कोटा १५४ दिन संसदमा अनुस्थित देखिन्छन् भने शरतसिंह भण्डारी १५०, प्रमोद साह १५०, शक्तिबहादुर बस्नेत १४९, छविलाल विश्वकर्मा १४९ दिन गयल देखिएका छन् ।
कांग्रेसका बौद्धिक नेताका रुपमा चिनिने सांसद प्रदीप गिरी १५४ दिन गयल देखिएका छन् । यद्यपि, सांसद गिरी बिरामी भएर भारतमा उपचार गराउन गएका कारण अनुपस्थित भएका हुन् ।
सांसदले पारिश्रमिक बापत महिनामा ५५ हजार २ सय ३० रुपैयाँ बुझ्छन् । त्यको अतिरिक्त उनीहरूले विशेष भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, कोठा भाडा १८ हजार, अतिथि स्वागत १ हजार, फर्निचर खर्च १५ हजार, बिजुलीपानी २ हजार, प्रतिदिन बैठक भत्ता १ हजार, यातायात भत्ता १ हजार, भ्रमण भत्ता २ हजार ५ सय इत्यादी शीर्षकमा पनि रकम लिन्छन् । यसले स्वभाविक रुपमा ‘सांसदहरू तलब, भत्ता बुझ्नका लागि मात्रै हुन् वा राज्य सञ्चारलनमा सहयोग गर्न पनि भन्ने प्रश्न खडा गर्छ ।