नेपालको राजनीतिमा नयां अभ्यास सुरु भएको छ । पछिल्लो समय पार्टी फुटाउँन सहमति नै गरेर जसपाबाट बिदा हुने तरखरमा रहेका डा. बाबुराम भट्टराई नयाँ पार्टी गठनको तयारीमा लागेका छन् ।
माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति पार्टी हुँदै घुम्दैफिर्दै जसपामा पुगेका भट्टराई त्यहाँबाट पनि छुट्टिने अवस्थामा पुगेका छन् । कोहीसँग पनि नटिक्ने नेताको परिचय बनाएका भट्टराईले आफू माथि लाग्ने गरेको आरोपलाई आफैँले पुष्टि गर्दै आएका छन् ।
जसपाबाट बिदा भए लगत्तै नयाँ पार्टी गठनको गृहकार्यमा उनी लागेका छन् । भट्टराईको कोर टीमले पार्टीको नाम पनि मोटामोटी फाइनल गरेको छ । चुनाव चिन्ह भने के राख्ने भन्ने बिषयमा गहन कुराकानी चलिरहेको बताइएको छ । चुनाव चिन्हबारे पनि विभिन्न बिकल्पहरुमा कुराकानी सुरु भएको खबर छ ।
कपिपयले भने तत्कालिन नयाँ शक्ति पार्टीको चुनाव चिन्ह देब्रे आँखा नै चुनाव चिन्ह लिनुपर्ने सुझाव भट्टराईलाई दिएका छन् । उक्त चुनाव चिन्ह निर्वाचन आयोगले कुनै पार्टीलाई दिएको छ की छैन बुझेर मात्रै निर्णय लिनु पर्ने बताएका छन् । देब्रे आँखो पाए सबैभन्दा राम्रो नभए अरु बिकल्पमा पनि जानुपर्ने सुझाव प्राप्त भएको बताइन्छ ।
उपेन्द्र पक्षका एक नेताका अनुसार सांसदहरू महिन्द्र राय यादव, राजकिशोर यादव र अमृता अग्रहरी भट्टराईसँग जान सक्ने अनुमान गरेको छ । भट्टराईले खोल्ने नयाँ पार्टीको नामसमेत जुराईएको उनी निकट एक नेताले बताए । उनका अनुसार भट्टराईको नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी केन्द्र’ राख्ने मोटामोटी सहमति भएको छ ।
तर अहिले नै यहि नाम अन्तिम हो भन्ने नरहेको र पार्टीको नामबारे अझै छलफल भइरहेको उनले बताए । पार्टीको नाम समाजवादी केन्द्र राख्नेबारे सबै नेताहरुको एकमत रहेको र सम्भवतः ‘नेपाल समाजवादी केन्द्र’ नै रहने उनको भनाइ छ ।
भट्टराईको नयाँ पार्टीको चुनाव चिन्हबारे पनि छलफल भइरहेको छ । धेरैजसो नेताहरुले नयाँ शक्ति पार्टीको ‘आँखा’ चुनाव चिन्ह राख्नुपर्ने सुझाव दिएका छन् । तर, यो चुनाव चिन्ह अर्कैले लिएको हुन सक्ने भएकोले यहि वरिपरि रहेर चुनाव चिन्ह राख्नेबारे छलफल भइरहेको ती नेताले बताए ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।
‘अशोक सर उपेन्द्र सर सँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टीम लिएर जानुहुन्छ’ ती नेताले भने, ‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टीम जसपामै रहन्छ ।’
भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) आन्तरिक विवादका कारण फुट्ने निश्चित भएसँगै भट्टराईले नयाँ पार्टी गठनका लागि केही दिनभित्रै राष्ट्रिय भेला बोलाउने तयारी समेत गरेका छन् ।