अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुले छलफल गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्षहरुबीच छलफल भएको छ।
शनिबार बिहान भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव र नारायणकाजी श्रेष्ठ सहभागी थिए । छलफलमा सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी थिएनन् ।
छलफलमा एसपीपीका विषयमा छलफल भएको एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन्। उनले २०१५ मा तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षरमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल भएको जानकारी दिए।
‘यस सन्दर्भमा आज बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादवसहित हामी बसेका थियौं,’ युवा विशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘यो प्रशंगदेखि अनेक विषयमा कुरा हुँदाखेरी प्रधानमन्त्रीसँग फेरि कुराकानी गरौं। र यो राष्ट्रिय अन्योललाई चिर्नका लागि हामीले छलफल गरेर सत्यतथ्य जनताका माझमा प्रस्तुत गरौं भन्ने कुरा गरेका छौं।’
त्यसअघि प्रधानमन्त्री देउवा र प्रधान सेनापति प्रभुराम शर्माले एसपीपीको विपक्षमा रहेको बताएपछि आफूहरु ढुक्क भएको भए पनि पछिल्लो पटक सार्वजनिक पत्रले अलमल पारेको नोपलको भनाइ थियो। उनले एसपीपीको विषयमा यथार्थ कुरा बाहिर आउनुपर्नेमा जोड दिएका छन् ।