शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा अर्का गैरसांसद मन्त्री थपिने भएका छन् । सत्ता साझेदार दल एकीकृत समाजवादीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा गैरसांसद शेरबहादुर कुँवरलाई सिफारिस गरेको हो ।
पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसद अछामका कुँवरलाई मन्त्री बनाउनुपरेको उपमहासचिव विजय पौडेलले जनाकारी दिए । भूगोलको हिसाबले पनि मिलाउनुपर्ने भएकाले गैरसांसदलाई पनि मन्त्री बनाउन पार्टीले सिफारिस गरेको उनको भनाइ छ ।
कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए । संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो ।
गैरसांसद मन्त्री बन्ने कुँवर एक्ला भने होइनन् । यसअघि नै गैरसांसद रहेका गोविन्द बन्दी कानुन मन्त्रीका रुपमा कार्यरत छन् । त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गैरसांसद गजेन्द्र हमाललाई अघि सार्दा भने चौतर्फी विरोध भएको थियो । त्यसपछि केही दिनमै उनले राजीनामा दिएका थिए ।