
देशका केही स्थानमा आजदेखि मौसम सुरू भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ मा आजदेखि मनसुन सुरू भएको हो ।
महाशाखाका अनुसार यसवर्ष नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि नै देशको पूर्वी भेगबाट प्रवेश गरेको छ । महाशाखाले आज एक सूचना जारी गर्दै यसवर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको जनाएको छ ।
यस्तै देशका अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएको विभागले जनाए पनि यसअघि विभागकै वेवसाइटमा नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने उल्लेख गरिएको थियो ।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।
यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमितरुपमा अद्यावधिक गर्दै जाने बुलेटिनमा उल्लेख छ ।