
नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको बिजुली बुधबार रातिदेखि भारत निर्यात हुन थालेको विद्युत् प्राधिकरणले बताएको छ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईकानुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो ।
प्राधिकरण प्रवक्ता भट्टराईका अनुसार भारतको एक्सचेन्ज बजारमा हरेक १५ मिनेटमा मूल्य परिवर्तन हुनेछ। यसअनुसार प्रतियुनिट अधिकतम १२ रुपैयाँ मूल्य कायम छ भने न्यूनतम साढे दुई रुपैयाँ पनि हुने गरेको हो।