यसकारण कहिले पुरानो हुँदैन विमान

Share:

आकाशको रहर र बाध्यताको तरेलीमा विमानयात्रा रोचक हुन्छ र त्यति नै भयानक पनि । हाम्रा कति पुर्खा चरी गाडी ‘विमान’ नै नचडी परलोकको यात्रा तय गरे । यसबेलाको जस्तो बाध्यता न्यून भएकाले विमान आवश्यकमा रहेन । र कालान्तरमा विमान रहर बन्न पुग्यो । “एकपटक प्लेन चड्ने रहर छ” यी कुराहरू भत्ता लिने लाइनहरुमा सुनिन्छन् । न सडक न केही त्यो आकाशमा कसरी उड्छ भन्ने कौतुहलता लाग्नु स्वाभाविक पनि हो ।

कुरा गरौँ दुर्घटनाको, माथि उडेको विमानले कहिलेकाहीँ धोका दिन्छ । विमानले दिएको धोका परिवारको लागि बज्रपात बन्न पुग्छ । यस्तै बज्रपात केही दिन अगाडि तारा एयरको विमान दुर्घटनामा परेपछि परिवारलाई पर्यो । प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ, तीन महिना भित्र अनुसन्धान सकिने घोषणा भएको छ । मुख्यतः विमानको ब्ल्याक बक्स भेटिएको छ । विमान दुर्घटनामा ब्ल्याक बक्स भेटिनु भनेको अनुसन्धानको लागि एक तिहाई काम काम सम्पन्न हुनु सरह नै हो ।

नेपाली आकाशको कुरा गर्दा नेपालमा सन् २०१० यता मात्रै कम्तीमा तीन दर्जन हवाई दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको अभिलेखले देखाउँछ । उक्त अवधिमा दुर्घटनामा परेका विमानमा १८ वटा मल्टी–इन्जिन अर्थात् धेरैवटा इन्जिन भएका विमान, १३ वटा हेलिकप्टर, चारवटा सिङ्गल इन्जिन विमान र दुईवटा विदेशी विमान छन् । त्यसैगरी मनोरञ्जन प्रयोजनका उडाइने केही हलुका विमानहरू पनि दुर्घटनामा परेका छन् । हवाई दुर्घटनाका अधिकांश यस्ता घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको पाइन्छ । तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ । इन्जिनियरले उडाउन योग्य छ नभनेसम्म पाइलटले त्यो जहाज उडाउँदैन ।

तारा एअरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका स्थित १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सोमवार बिहान फेला परेको थियो । उक्त विमान पनि पुरानो हुनु दुर्घटनाको एउटा कारक रहन सक्ने तर्क सामाजिक सञ्जालमा कतिपयले गरिरहेका छन् । एअरपोर्ट डेटा तथा फ्लाइटरेडार २४ जस्ता वेबसाइटका अनुसार क्यानडाली कम्पनीले उत्पादन गरेको उक्त विमान सन् १९७९ मा बनेको हो । अर्थात् यो विमान झन्डै ४३ वर्षदेखि सञ्चालनमा थियो ।

तर के सामाजिक सञ्जालमा चर्चा भए जस्तै विमान पुरानो हुनु पनि दुर्घटनाको एउटा कारण हो त ? के साँच्चै विमान पुरानो नै हुन्छ त ?

वास्तवमा विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुन्छ । कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । त्यसबाहेक कतिपय समयमा विदेशमै लगेर पनि विमानको परीक्षण गरिन्छ । त्यस कारण जहाजले ’एअरवर्दिनेस कन्डिशन’ पूरा गर्छ भने अर्थात् उडानका लागि योग्य छ भने त्यसलाई विमान पुरानो भएकाले दुर्घटना भएको भन्न सकिँदैन । जस्तो कि नयाँ विमान समेत ‘ डेलभरी भएको पहिलो दिनमा समेत दुर्घटनामा परेको छ ।

विमानको इन्जिनमा धेरै किसिमका कम्प्युटर जडान गरिएको हुन्छ जसले विभिन्न पार्टपुर्जाबारे जानकारी गराइरहेको हुन्छ । त्यस कारण उडान योग्यता कायम रहेसम्म विमान पुरानो हुँदैन ।

कमेन्ट गर्नुहोस्