
त्रिवेणी । राष्ट्रिय बीमा कम्पनीले गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई बीमा बपतको रकम उपलब्ध गराएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विप्दबाट मृत्यु भएमा प्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकम उपलब्ध गराउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागु हुने गरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो । सोहीअनुसार बीमा कम्पनीले भूकम्प पीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो ।
मणिराज शाह(नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत) ले जनाए अनुसार उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक माामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई प्रतिव्यक्ति रु दुई लाखका दरले रु ६८ लाख प्रदान गरिएको छ।
बाँकी आठ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ मृतक परिवारका सदस्यहरुलाई पनि बीमा कम्पनीले रु दुई लाखका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार मृतकका परिवारलाई वडामै पुगेर रु दुईलाखका दरले रु २४ लाख उपलब्ध गराइएको थियो । चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको र निजका परिवारले पनि बीमाबापतको रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।
जिल्लामा ४६ मृतकका परिवारले रु दुई लाखका दरले रु ९२ लाख पाएका छन् भने अझ नौ जनाले रकम पाउन बाँकी छ । गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्चिमा ५३, सानीभेरी गाउँपालिकाका दुई जनाको मृत्यु भएको थियो ।







