खरिद–बिक्री प्रकरणमा एनसेलकाे सेयर : संसदीय समिति छानबिनका निम्ति तातिए

Share:

काठमाडौं । एनसेलको सेयर खरिदबिक्रीकाे विषयमा प्रतिनिधिसभाअन्तर्गतका दुई वटा समितिमा छलफल हुँदैछ। मलेसियन कम्पनी आजियटाले आफ्नाे स्वामित्वकाे पुरै (८० प्रतिशत ) सेयर नेपाली मूलका सिंगापुरवासी व्यवसायी सतीशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई अत्यन्तै न्यून अंकमा, त्यो पनि सुटुक्कै बिक्री गरेपछि यसमा ठूलै चलखेल भएको आशंकमा चौतर्फी छानबिनको माग उठेपछि संसदीय समिति पनि तातिएका हुन् ।

यसबारे छलफल बिहान ११ बजे अर्थ समितिमा हुँदैछ भने दिउँसो लेखा समितिको बैठक २ बजे डाकिएको छ । अर्थ समिति बैठकका नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति एजेण्डा रहेको बताइएको छ । त्योबाहेक राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धिको अवस्था सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची छ ।

यसअघि नै चासो देखाएर ९ जिज्ञासाकाे जवाफ पेस गर्न भन्दै एनसेलको सेयरबारे सार्वजनिक लेखा समितिले आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र पठाइसकेकाे छ । समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको सेयर खरिद बिक्रीका सन्दर्भमा केही सवालको जानकारी खोजेको हो ।

यसबारे थप छलफल गर्न समितिको बैठक बोलाइएको लेखा समिति सभापति पोखरेलका अनुसार रहेको छ। ‘हामीले अहिले देखेका प्रारम्भीक चरणको कमिकमजोरीका विषयमा थप छलफल गर्न आज दिउँसो २ बजेलाई बैठक बोलाइसक्या छौं’, उनले भने, ‘अन्य पनि केही प्रश्नहरू नयाँ ढंगले विकास भएर आएका हुनाले तत्काल बैठक राखेका हौं । समितिका सदस्यहरू बसेर यो विषयमा व्यापक छलफल गरेर अरु आवश्यक कदम अगाडि बढाउँछौं । नागरिक र मुलुकप्रति समिति जवाफदेही छ ।’

सरकारले एनसेलको सेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय हिजोमात्र गरेको थियो ।

कमेन्ट गर्नुहोस्