त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले राखे ४५ बुँदे माग, पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी

Share:

२० मंसिर, काठमाडौं । देशको सबै भन्दा पहिलो र ठुलो त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले ४५ बुँदे माग राख्दै पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् । विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए पुषमा हुने भनिएको दीक्षान्त समारोह हुन नदिने चेतावनी दिदै विज्ञप्ति जारी गरेको छ।

कर्मचारी संघले विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसाललाई गत वर्षको माग र गत चैत महिनामा भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएको हो ।

संघले विगतका सम्झौताको पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरुको निरन्तरताको सुनिश्चितता माग गर्दै तीन दिनभित्र विश्वविद्यालय नेतृत्वले निर्णय नगरेमा विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरु पूर्णरुपमा बन्द गर्दै आसन्न दीक्षान्त समारोहलाई समेत प्रभावित पारिने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस्