
१८ मंसिर । देश को पूर्वी क्षेत्र बाट नेपाल भारत सिमामा हराएका, ढलेका, क्षतिग्रस्त भएका सिमा स्तम्भहरुको मर्मत कार्य को शुभारम्भ भएको छ । कोशी प्रदेशको झापा जिल्ला अन्तर्गतको मेचीनगरदेखि गौरीगञ्जसम्मको सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत आजदेखि गरिन लागिएको हो।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोला समेतको सहभागितामा भद्रपुरस्थित सशस्त्र प्रहरी बलको प्राविधिक टोलीले मेचीनगर नगरपालिकाको वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) लाई मर्मत गर्दै मर्मतकार्यको शुभारम्भ गरिएको छ। कार्यक्रममा पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।
नेपाल र भारतको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति अनुरुप भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार समाप्त गरिसकेको छ भने नेपाल ले बल्ल कार्य शुरु गरेको हो । नेपालले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने छ ।
कोशी प्रदेशको भारत संग करिब चार सय ३० किलोमिटर सीमाना रहेको छ भने करिब नौ सय ५७ वटा सिमा स्तम्भ रहेको छ जसको सुरक्षार्थ करिब एक हजार पाँच सय सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।







