पाल्पा स्थित रामपुरमा व्यावसायिक कालिजपालन

Share:

पाल्पा । रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । व्यवस्थित तरिकाले रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवसाय सुरु गरिएको छ ।

चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको व्यवसायी लोकमाया रानाले बताइन् । उनका छोरा मनिम रानाले सो व्यवसाय गत जेठमा सुरु गरेका थिए ।

लोकमायाले भनिन् , “छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ”।

उनको फार्ममा हाल १५० कालिज छन् । उनले गत जेठमा पोखराबाट ५०० चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको बताइन् । उनको भनाइ  अनुसार नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको  थियो । जंगलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताइन् ।

उनले भनिन्,”एउटा चल्ला चार सयमा खरिद गरेर पाल्न थालेको छु”। करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एकजना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन् । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ ।

रामपुरलाई कालिजपालनमा चिनाउन गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ । करिब ३० लाख लागतमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले तीन हजार, पोथी दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

उनले भनिन्,” कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत ६ देखि ८ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो “।

कमेन्ट गर्नुहोस्