टी-२० विश्वकपमा छनोट खेलमा युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

Share:

काठमाडौँ । मुलपानी क्रिकेट मैदानमा भैरहेको आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनाउदै जित्न नेपाललाई १३५ रनको लक्ष्य दिन सफल भएको छ।

अर्धशतक बनाएका युएईका क्रिकेटर वृत्य अरिवन्दले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाएका थिए जो अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट भएका थिए।

युएईविरूद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। सोमपाल कामीले युएईका ओपनिङ ब्याट्सम्यान खालिद शाहलाई ३ रनमा रनआउट गरेका थिए भने सोही ओभरको चौथो बलमा १६ बलमा ३ चौका र २ छक्का बनाएका मोहमद वासीम २६ रनमा करण केसीबाट आउट हुन पुगेका थिए।

तेस्रो विकेट लिएका सन्दीप लामिछानेले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा पार्न सफल भए। अलिशान सराफुलाई १६ रनमा कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए भने कप्तान समेत रहेका रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

खेलको १८औं ओभरमा सन्दीप लामिछानेले मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँच बलमा कुनै रन दिएनन्।

बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा १० रन खर्चिए।

सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए।

पहिलो पटक २०१४ को विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर यहि खेल मार्फत हुने भएकोले यो खेल नेपालका लागि महत्त्वपूर्ण रहेको छ।

कमेन्ट गर्नुहोस्