मूल्य समायोजन नगरी चर्को नाफा राखेको आयल निगमले तिर्‍यो ६ अर्ब ३० करोड

Share:

काठमाडाैं । नेपाल आयल निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट लिएका सात अर्ब ऋण डेढ वर्षमै तिर्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको भाउअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नपाउँदा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बक्यौता तिर्न नसकी अप्ठ्यारोमा परेपछि निगमले जेठ, ०७९ मा सरकारबाट ३ प्रतिशत सहुलियत ब्याजदरमा सात अर्ब ऋण लिएको थियो ।

सो ऋण रकम प्रति किस्ता ७० करोडका दरले पाँच वर्षमा भुक्तानी गर्ने सर्त राखिएको थियो । तर, पछिल्लो पटक निगमले १३ कात्तिकमा एक अर्ब ४० करोड सरकारलाई बुझाइसकेको छ ।

सो रकम बुझाएपछि सरकारलाई तिर्नुपर्ने ऋण दायित्व ७० करोडमा झरेको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । उनले भने, ‘दसैँमा पेट्रोलियम पदार्थको खपत बढेर आम्दानीमा सुधार भयो । त्यसैले त्यहाँबाट प्राप्त आम्दानी सरकारको ऋण तिर्न प्रयोग गर्ने निर्णय गर्दै एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेका छौँ ।’

निगमले एक महिनाअघि असोज पहिलो साता पनि सरकारी ऋणबापतको एक अर्ब ४० करोड भुक्तानी गरेको थियो । त्यतिवेला साउन र भदौमा आर्जन गरेको नाफा रकम एक अर्ब २७ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)बापत जम्मा भएको १५ करोड रुपैयाँसमेत सरकारी ऋण तिर्न प्रयोग गरिएको थियो । निगमले गत असारमा सबैभन्दा धेरै दुई अर्ब ८० करोड सरकारी ऋण चुक्ता गरेको थियो भने ऋण लिएको सात महिना (पुस ०७९) मा पहिलो किस्ताबापत ७० करोड रुपैयाँ तिरेको थियो ।

१० किस्तामा तिर्नुपर्ने सर्त राखिएको ऋण निगमले बढीमा पाँच किस्तामा र डेढ वर्षभित्रै सक्ने लक्ष्य राखेको छ । ‘अब अन्तिम किस्ताबापत तिर्नुपर्ने रकम ७० करोड रुपैयाँ छ,’ साहले भने, ‘कच्चा तेलको अन्तर्राष्ट्रिय बजारले साथ दिएमा मंसिर–पुसभित्रै सरकारी ऋण तिरेर सबै दायित्वबाट मुक्त हुन्छौँ ।’

डेढ वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि आयल निगमले सोही दरमा मूल्य समायोजन नगरी चर्को नाफा राखेका कारण ठूलो ऋण रकम चाँडै चुक्ता गर्न लागेको हो । निगमले गत ३१ असारदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ थपघट भएअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न थालेदेखि नियमित नाफासमेत राख्दै आएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने क्रममा निगमले पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने गरेको छ । याे समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्