
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । प्रहरीले पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र बाबुराम भट्टराईको ‘बयान कागज’ नगरीकन नै प्रतिबेदन पेश गर्ने सम्भावना भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेकोले पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र बाबुराम भट्टराईको ‘बयान कागज’ नगरीकन नै प्रतिबेदन पेश गर्ने सम्भावना भएको उच्चश्रोतले जानकारी दियो ।
शुक्रवार ५३ दिन पुगेको सीआईबीको अनुसन्धान ६० दिन अर्थात भदौ ८ भित्र जिल्ला सरकारी वकिल कार्यालयमार्फत ललिता निवासको मुद्दामा जिल्ला अदालतमा दर्ता गरिसक्नुपर्ने भएकोले सरकारी वकिललाई शुक्रवारनै अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चार वटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन गरेको आदेशले पूर्व प्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको भएपनि डा. भट्टराई र नेपालसँग बयान वा कागज केही नगरी सीआईबीले प्रतिवेदन तयार पार्न शुरू गरेको श्रोतको भनाइ छ ।







