
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने ‘नौ मुठे’ गाई लोप हुने अवस्थामा पुगेको छ । अछाम जिल्ला उद्गम मानिएको यो गाई विश्वको सवै भन्दा सानो गाईको प्रजाती भनेर चिनिने गरेको छ ।
मौलिक नश्लीय नेपाली गाई भएकोले कृषि अनुसन्धान निर्देशनालय डोटीले आफ्नो अनुसानधान केन्द्रमा २० बटा नौमुठे गाई संरक्षण गरि राखेको हो ।
अगाडिको खुट्टादेखि जुरो सम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीहरुले नौमुठ्ठे गाई भन्ने गरेका हुन। दिइने घासपातको तुलनामा यसले दिने दूध धेरै हुने यो गाईलाई राम्रोसंग स्याहार सुसार गर्न सकेमा उत्पादकत्व समेत बढ्ने नौमुठे गाईका स्याहारे बताउछन् ।
एक सय ५० किलोग्राम तौल हुने यो गाईको दूध निकै पोषिलो हुने गर्छ र २ देखि ३ माना सम्म दूध दिन्छ । हजार किलोग्राम तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै वढी हुन्छ । कुनै पनि प्रजातिमा पोथीको संख्या हजार भन्दा कम भएमा उक्त प्रजाति संरक्षणका दृष्टिकोणबाट खतराको स्थितिमा हुन्छ । हावापानीले खासै असर नपर्ने यो प्रजातीको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि सफलतापूर्वक पाल्न सकिने कृषि अनुसन्धान निर्देशनालय डोटी निर्देशक मुथरा यादवले बताए ।
‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिन्छ, केही गाईहरु पोखराको गाईभैंसी फाराममा पनि पालिएका छन’ निर्देशक यादवले भने ‘लोपोन्मुख प्रजाति भएकोले यसको वीर्य संकलन गर्ने उदेश्यले, पशु प्रजनन महाशाखा खुमलटारमा पनि यो गाईको साढे पालिएको थियो । यो गाईको संख्या ज्यादै न्यून भएको र कृषकहरुले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ ।’
यो गाई मुख्य गरि अछामको बावला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाण्डौ र खप्तडमा पाईने निर्देशक यादवले बताए । नौ मुठ्ठे गाईको तथ्यांक हेर्दा अत्याधिक गर्मी हुने क्षेत्र अछामको साफेवगर र अति न्यून तापक्रम भएको खप्तड क्षेत्रमा समेत यो गाई पाल्ने गरेको निर्देशक यादबले बताए ।
‘यो गाई पाल्न सजिलो हुने भएकाले यहाँका स्थानियहरुले यहाँबाट गाई लगेर पाल्ने गरेका छन’ यादबले भने ‘पाल्न चहाने मानिसलाई हामी निशुःल्क दिन्छौं । तर, हामीसंग सम्झौता गर्नु पर्ने बताए ।’ भनि धनगडी खबरले लेखेको छ ।







