
काठमाडौं । बिगत केहि समयदेखि अवरोधित प्रतिनिधिसभा खुलाउने बिषयमा छलफल गर्न सभामुख देवराज घिमिरे प्रधानमन्त्री भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा प्रधानमन्त्रीले संसद खुलाउन आफूले भूमिका खेल्ने बताउदै यस विषयमा एमाले नेतृत्वसँग कुरा गर्ने बताए । प्रधानमन्त्रीले ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ’ भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक सुभित्र सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएपछि त्यसो प्रकरणको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले श्रावण १० गतेदेखि संसद् अवरूद्ध गर्दै न्यायिक जाँचबुझ समितिको माग गरिरहेको छ भने सरकारले राज्यका निकायले जाँचबुझ गरिरहेकाले यसैलाई विश्वास गर्नुपर्ने अडान राख्दै आएको छ । सत्ता र प्रमुख प्रतिपक्ष अडानमा यथावत् रहँदा संसद् नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन ।







