
काठमाडौं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेले विभिन्न प्रकरणहरुमा विचार सार्वजनिक गर्ने भनि आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले प्रश्नगर्दै सरकारको आलोचना गरेका छन् ।
सम्मेलनमा मन्तव्य राख्दै ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताए । ‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ?
सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो‚ त्यस विषयमा गरिएको छानबिन गायब गरिएको आरोप अध्यक्ष ओलीले लगाए । ‘तार काट्ने क्यामेराको मुन्टो अर्कोतर्फ फर्काउने, घाटी मर्काउने कस्तो सरकार हो यो‚’ भन्दै प्रश्न गरेका छन् ।
ओलीले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण कार्यकर्तालाई उजुरी गर्न लगाउँदै सांसद पक्राउ गर्न थालिए कोही बाँकी नरहने बताउदै ‘सुनिल शर्माको सर्टिफिकेटको बारेमा नजाँच भनेका छैनौं। जतिबेला उनले मन्त्रीको राजीनामाको कुरा उठाए, त्यतिबेला सर्टिफिकेट जाँच गर्नुपर्यो,’ उनले भने।
‘विदेशबाट अवैध रुपमा भित्रिएको धनलाई सेतो तुल्याउन राष्ट्र बैंकलाई दबाब दिने लगायतका कामहरुले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगतमा धमिलिएको छ । दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आएको छ’ उनले भने।
सांकेतिक रुपमा प्रधानमन्त्रीको राजीनामा समेत माग गर्दै उनले भने ‘प्रधानमन्त्री पनि यस्तो भ्रष्टाचारको चाङमाथि उभिनु भन्दा राजीनामा गरेर बस्नु पर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरी कसरी बस्न सकेको? त्यसमाथि गृहमन्त्रीले आफ्नो जिम्मेवारी बहन नगरेर राष्ट्रिय झण्डा बोकेर हिँड्न लाज लाग्नुपर्ने हो ।’







