
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बुधबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको छ। एमाले सम्बद्द संसदहरूले माग गरिरहेको सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनमा सरकारको बेवास्ताका कारण बैठकमा नाराबाजी र वेल घेराउ गरेका हुन्।
मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका भएपनि गृहमन्त्रीबाट माग सम्बोधन हुने जवाफ नआएको भन्दै एमालेले बीचैमा अवरोध गरेकोले बैठक आजका लागि सरेको थियो।
सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरि साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
संसदमा चलिरहेको अवरोध हटाउन सभामुख घिमिरेले पहल गर्दै दुइ पटक सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूबीच छलफल भए पनि निचोड भने निस्कन सकेको छैन । श्रावण ३ गते त्रि.अ.वि. भन्सारको गेटबाट बरामद एक क्विन्टल सुन तस्करीको प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि शंका रहेको तथा सरोकार निकायले उच्च राजनैतिक नेतृत्व माथि छानबिन नगर्ने समेतमा शंका गर्दै उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने भन्दै संसदमा अवरोध गरिरहेको हो।







