
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट विजयी भएको एक सय दिन पुगेको अवरमा ‘मोबाइल क्लिनिक’का रुपमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर सञ्चालनमा ल्याएको ना२च ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरिएको छ ।
रास्वपापले पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थियो । । तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।
विवाद पछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको रास्वपा बागमतीका स्वास्थ्य विभागका प्रमुख डा. मनोहर प्रधानले जानकारी दिए । उनका अनुसार अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।
भारतीय दूतावासले ११ वर्ष अगाडि उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा रास्वपाले सञ्चालमा ल्याएको घोषणा गरिएको थियो ।







