
काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीले सरकारले चिकित्सा शिक्षा सुधारका लागि २०७९ असोजमा भएका लगायतका सहमतिहरू कार्यान्वयन गर्न स्मरण गराएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताउदै ‘राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेको र चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको बताए । डा. केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ ।’
सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न १४ दिनको समय सीमा दिदै डा. केसीले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्याउने, चिकित्सा शिक्षालाई नाफा रहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् ।







