विश्व शान्ति दिवसमा पनौती-नमोबुद्ध पदयात्रा हुने

331
0
Share:

काठमाडौँ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले पदयात्राको आयोजना गरिन लागेको भनिएको पदयात्रा आगामी असोज ६ गते ‘विश्व शान्ति दिवस’का अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक एवं पर्यटकीय स्थल नमोबुद्ध सम्म पदयात्रा गरिने भएको छ ।

आयोजक काभ्रे सेवा समाजका अध्यक्ष प्रह्लाद केसीले पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बी बीच आपसी सद्भाव, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताएका छन्। पनौती र नमोबुद्धको पहिचानलाई जनतामाझ पुर्याउन गौतम बुद्धको पहिलो जन्मस्थल भएको बिश्वास गरिएको नमोबुद्धमा शान्ति पदयात्रा आयोजना गर्न लागिएको तर्क रहेको छ ।

पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, धार्मिक सर्किटका रूपमा विकास, पनौती–नमोबुद्ध ट्रेकिङ रुट निर्माणका लागि पहल गर्न शान्ति पदयात्राको महत्वपुर्ण भूमिका रहने आयोजक र सरोकारवालाहरुको बिश्वास रहेको छ भने जिल्लाका १३ वटै स्थानीय तहमा रहेका महत्त्वपूर्ण स्थलको प्रचार–प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्रा आयोजना गरिने समेत आयोजकको योजना रहेको बताइएको छ ।

आयोजकका अनुसार करिब साढे तिन घण्टा लाग्ने करिब दस किलोमिटरको पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शङ्खुबाट नमोबुद्ध पुग्नेछ ।

किंवदन्तीअनुसार द्वापर युगमा (गौतम बुद्धको पूर्वजन्म) ‘राजकुमार’ले सुत्केरी बघिनी र उसका डमरुहरुको भोकको कारणले जान लागेको प्राण रक्षाहेतु आफ्नो देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले जीवन त्याग गरेको भूमिमा नमस्कार गर्दै ‘नमोबुद्धाय:’ भनिएको बाट नमोबुद्ध नामकरण भएको श्रुति पाइन्छ ।

कमेन्ट गर्नुहोस्