प्रधानमन्त्रीले गल्ती स्वीकार्दै सदनमा स्पष्टीकरण दिने सहमतिपछि एमाले अवराेध हटाउन तयार

Share:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्ति सच्याउने र गल्ती स्वीकार गर्दै सदनमा स्पष्टीकरण दिने सहमतिपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सदनको अवरोध हटाउन तयार भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको तीन शीर्ष नेताहरु बीचको छलफलमा यस्तो सहमति जुटेको हो ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटका विषयमा पनि स्पष्टीकरण दिनेछन् । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंहले पटकपटक दिल्ली धाएको भनेर असार १८ गते प्रधानमन्त्री प्रचण्ड दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले असार २० यता सदन चल्न दिएको छैन ।

आइतबार नै सदन खुलाउने सहमति भएको भएपनि शीर्ष नेताहरुको छलफललगत्तै प्रधानमन्त्रीको सचिवालयबाट आएको प्रेस नोटका कारण सहमति भंग भएको थियो । आइतबार बैठक बस्न नसकेपछि सभामुखले आज (साेमबार) दिउँसाे ३ बजे बस्नेगरी स्थगित गरेका थिए ।

यो बिषयमा एमाले संगै रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ र राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ को विचार भने प्राप्त हुन सकेन ।

कमेन्ट गर्नुहोस्