
काठमाडौँ | असार २८ बाट श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन नेपाली टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ। नेपाली टोलीलाई श्रीलंका जानुअघि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विहान विदाइ गरेको छ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ जुन नेपालको पहिलो खेल हुनेछ | यसैगरी दोस्रो खेल भारतसँग साउन १ गते खेल्नेछ भने साउन ३ गते युएईको टिमसँग प्रतिस्पर्धा हुनेछ।
नियम अनुसार दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
टेस्ट राष्ट्रका यू-२३ टिमलाई मात्रै सहभागी गराउने गरेको एसिसीले यसपटक भने टेस्ट राष्ट्रसहितका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएकाले प्रतियोगिताका कुनै पनि खेललाई एकदिवसीय खेलको मान्यता नदिने भएको छ ।
नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा रहेका छन्।
एसिसीले समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् भने समूह बीमा पाकिस्तान, भारत, नेपाल र युएई रहेका छन् ।