
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिबारे संसद्मा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले इकान्तिपुरलाई जानकारी दिए ।
नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८० माथिको दवाफार छलफल सदनमा गरियोस्’ भनेर प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री दाहाल र सरकारका तर्फबाट चित्तबुझ्दो जवाफ नआए सदन अवरुद्ध हुनसक्ने पनि एमाले सचेतक बर्तौलाले बताए । उनले भने, ‘यो त गम्भीर कुरा हो । संसद् अवरुद्ध हुन्छ । सरकारले प्रधानमन्त्रीले यसलाई कसरी लिनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।’ एमाले प्रतिनिधिसभा बैठकअघि साढे १ बजे संसद् भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठकसमेत बोलाएको छ ।
प्रधानमन्त्री दाहाल पटक-पटक अभिव्यक्तिका कारण विवादमा आउने गरेका छन् । पछिल्लो समय फेरि नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उनी विवादमा आएका हुन् । पुस्तक विमोचन कार्यक्रममा दाहालले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’(साभार इकान्तिपुर)







