
काभ्रेपलाञ्चोक जिल्ला स्थित नमोबुद्ध नगरपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो ।
नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए । वल्र्ड लिकं कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो ।
वल्र्ड लिङ्कका वाग्मती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताए । नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ । नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाइफाइ विस्तार गर्ने तयारीमा रहेको जनाएको छ ।







