विपन्न नागरिक भन्छन् : काम गरेर खाने वातावरण बनोस्

184
0
Share:

नवलपुर । हेमा तामाङले तीन वर्षदेखि गैँडकोटस्थित सडक किनारमा मकै पोलेर बेच्ने गरेकी छन् । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नवलपुरको यस सडक किनारमा मकै पोलेरै उनले आफ्नो परिवार पाल्दै आएकी छन् । “गैँडाकोटमा उत्पादन भएको मकै ल्याएर ग्राहकको आवश्यकताअनुसार कसैलाई पोलेर त कसैलाई हरियो मकै नै बेच्ने गरेको छु”, तामाङले भनिन्, “मकै बेचेरै पाँच जनाको परिवार पालेको छु, सडक विस्तारसँग हामीलाई हटाउने कुरा छ । यो विषयमा अब आउने जनप्रतिनिधिले विचार गर्नुपर्छ ।”

दुःखसुख गरेर सडक किनारमा मकै पोलेर जीविका निर्वाह गर्दै आएको भन्दै तामाङले गरिबले काम गरेर खान पाउने वातावरण बन्नुपर्ने बताइन् । “हामीले सरकारसँग पैसा मागेको छैन, सम्पत्ति मागेको छैन”, तामाङले भनिन्, “सरकार जसको आए पनि उद्योग स्थापना गर्दै हामीलाई काम गर्ने वातावरण सिर्जना गरिदिए राम्रो हुने थियो ।” सडक किनारमा मकै पोलेर बेच्नु आफूहरुको रहरभन्दा पनि बाध्यता भएको उनले बताइन् । “यो धुवाँ, धूलो खाएर बाटो किनारमा मकै पोलेर बस्नुपरेको छ”, तामाङले भनिन्, “उद्योग, कलकारखानामा काम गर्न पाए यहाँको धुलो, धुवाँबाट मुक्ति पाइन्थ्यो होला ।” कतै केही काम नपाएपछि गाउँबाट हरियो मकै किनेर ल्याएर सडक किनारमा बेच्न सुरु गरेको तामाङले बताइन् ।

तामाङले जस्तै यहाँ करिब २० जनाले मकै बेच्ने पेसा गर्दै आफ्नो जीविका चलाउँदै आएका छन् । गैँडाकोट–७ का इन्द्रबहादुर दराईले दैनिक ८० वटासम्म मकै पोलेर बेच्ने गरेको बताए । “हामीले बारीबाट प्रतिघोगा मकै रु १२ देखि १५ सम्ममा खरिद गरेर ल्याउने गरेका छौँ”, दराईले भने, “हरियो मकै एक झोलालाई रु सयमा बेच्ने गरेका छौँ, पोलेर बेच्दा प्रतिघोगा रु ३० मा बेच्छौँ ।” एक झोलामा छ घोगा हरियो मकै हुने उहाँले बताउनुभयो । हरियो बेच्नभन्दा पोलेको मकै बिक्री गर्दा फाइदा हुने दराईको भनाइ छ ।

आफूहरूको बस्तीमा स्थानीय नेताहरू आफ्नो पार्टीको उम्मेदवारलाई भोट माग्न आउने गरेको उल्लेख गर्दै दलका उम्मेदवार भोट माग्न नआएका दराईको भनाइ छ । “चुनाव आइसक्यो, ठूला दलका उम्मेदवार भोट माग्न आउँलान् र हाम्रा माग राखौँला भनेको आजसम्म कुनै पनि उम्मेदवारले हाम्रो गाउँमा पाइला राखेका छैनन्”, दराईले भने, “खानका लागि दुःख गरिरहेका छौँ, आफ्नो लागिभन्दा पनि समग्र समुदाय र देशको हित होस् भनेर माग राख्ने सोचेको कोही फर्केर आउँदैनन् ।” उम्मेदवार भोट माग्न नआएका कारण कुन उम्मेदवारलाई भोट हाल्ने भनेर मनस्थिति नै नबनाएको उनको भनाइ छ । “कसलाई मतदान गर्ने भनेर हाम्रो गाउँमै अहिलेसम्म कसैले पनि मनस्थिति बनाएका छैनौँ”, दराईले भने, “जुन उम्मेदवार आएर काम गर्ने प्रतिबद्धता जनाएर हामीलाई काम गर्ने विश्वास दिलाउँछन्, उनैलाई भोट हाल्ने हो ।”

आश्वासन दिने तर पूरा नगर्ने उम्मेदवारलाई भोट नहाल्ने दराईको भनाइ छ । “भोट माग्न मात्रै आएर भएन । महँगी घटाउनु प¥यो, हामीजस्ता गरिब जनताले काम गरेर खान पाउने वातावरण बनाउनु प¥यो”, दराईले भने, “खोला तटबन्धन, बाटोघाटो निर्माण, रोजगार सिर्जना गर्ने प्रतिबद्धता जनाउनलाई हाम्रो भोट जान्छ ।” सरकारी राजस्व बढी तोकिएका कारण बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न पनि समस्या भएको अवस्थामा राजस्व घटाउनुपर्ने दराईको भनाइ छ ।

गैँडाकोट–६ कि गोमा सुनारले ठेलामा चटपटे बेच्दै आएकी छन् । “मैले ठेलामा सामान बिक्री गर्न सुरु गरेको पाँच वर्ष भयो”, सुनारले भनिन्, “एकल महिलालाई समाजमा काम गरेर खान साह्रै गाह्रो पर्ने रैछ, काम गरेर खाने अवस्था सिर्जना हुनुपर्छ ।” पहिले ठेलामा कस्मेटिक बिक्री गर्दै आएकी सुनारले पछिल्लो छ महिनादेखि चटपटे बिक्री गर्न सुरु गरेको बताइन् । “बिहानदेखि राति अबेरसम्म सौन्दर्य सामग्री बिक्री गर्नुपर्दा छोराछोरीलाई समय दिन नसकेपछि छोरा कुलतमा फस्यो, लागुपदार्थ सेवन गर्न थाल्यो”, गहँभरि आँसु पार्दै सुनारले निन्, “हामी गरिबका लागि सरकार छैनजस्तै लागेको छ ।”

गलत बाटो हिँडेको छोरालाई सुधार्न पाए आफ्ना सुखका दिन आउने आशामा बस्नुभएकी सुनार दिनभरि काम गरेर पनि बिहान बेलुका खानका लागि समस्या हुने गरेको गुनासो गर्छिन् । “गरिबलाई सरकारले निःशुल्करुपमा बस्ने खाने व्यवस्था गर्ने भनेको सुनेको थिएँ”, सुनारले भनिन्, “हामी आफैँ काम गरेर खान्छौँ तर, सम्मानपूर्वक काम गर्ने र खाने वातावरण बन्नुपर्छ ।”

कमेन्ट गर्नुहोस्