
कुनै पनि ऋणीले निश्चित समयसम्म आफ्नो ऋणको सावाँ तथा ब्याजको निर्धारित भुक्तानी गरेको छैन भने त्यस्तो ऋण वा कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ । एनपीएल बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रदर्शन परीक्षण गर्ने महत्वपूर्ण औजार पनि हो ।
बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि समयसमयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने शर्तमा ऋणीलाई कर्जा दिएका हुन्छन् । यदि, तोकिएको समयमा ऋणको सावाँ वा ब्याज भुक्तानी पाउन सकेनन् भने बैंकहरुले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गर्दछन् । बैंकिङ क्षेत्रमा सामान्यतया, ऋणीले सावाँ तथा ब्याज भुक्तानी गर्नुपर्ने मितिबाट ९० दिन बितेको खण्डमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । ५ प्रतिशत वा सोभन्दा माथि खराब कर्जा भएका वित्तीय संस्थाले लाभांश वितरण गर्न नपाउनेसम्मका व्यवस्था राष्ट्र बैंकले गरेको छ । खराब कर्जाले बैंकको नाफामा समेत प्रभाव पार्छ ।
सामन्यतया, सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । यद्यपि, लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउदा बैंकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । खराब कर्जा बढ्दा बैंकको छविमा समेत नकारात्मक असर पर्न जान्छ । बैंकको एनपिएल जति कम भयो, त्यति राम्रो र बलियो मानिन्छ ।








